विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

भजनी । कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ ।
नगरपालिका-५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक चार घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो ।
गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउछन् । उनका अनुसार नगरपालिकाले विद्युत्को महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ ।
उनका अनुसार नगरपालिकालाई ग्यास प्लान्ट समितिको मातहतमा सञ्चालनका लागि आग्रह गरेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।
विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार विद्युत् लाइन गत पुस २२ गते काटिएको थियो । तिर्नुपर्ने रु १४ हजार ६४६ नतिरेपछि लाइन काटिएको वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले उक्त रकम जरिवाना थपिँदै रु २५ हजार १७२ पुगेको छ ।
घरमा दैनिक पाइप लाइनबाट ग्यास आउन थालेपछि उत्साहित बनेका स्थानीय अहिले निराश भएका छन् । निरन्तरता हुने कुरामा सुरूदेखि शङ्कामा रहेका स्थानीय पुरानै स्थितिमा फर्किनुपरेको बताउँछन् । बायो ग्यासबाट खाना पकाउने बानी परेकाहरु पुनः एलपी ग्यासको सहारामा फर्किनुपरेको छ । जडान भएका उपकरणमा खिया लाग्न थालिसकेको छ । संरचना जीर्ण बन्दै गएका छन् । जडान भएदेखि ग्यास प्लान्टको मर्मतसम्भार हुन सकेको छैन ।
करिब एक करोड ६० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त ग्यास प्लान्टबाट पशु मलमूत्र, जैविक फोहर र कृषि अवशेषमार्फत बायोग्यास उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ग्यास प्लान्ट सञ्चालनका लागि आवश्यक प्रविधि, दक्ष जनशक्तिलगायत कुराको पनि अभाव देखिएको छ । नगरपालिकाले उपभोक्तालाई प्रतियुनिट ४५ रुपैयाँ महसुल तिर्ने गरी कार्यविधि पनि बनाएको छ । स्थानीयले उक्त दररेट महँगो भन्दै असन्तुष्टि समेत व्यक्त गर्दै आएका छन् ।
नगरपालिकाको वन वातावरण तथा फोहर व्यवस्थापन उपशाखाका प्रमुख लोकबहादुर बुढाले उपभोक्ताले तोकेको मूल्य बढी भयो भन्दै विरोध गरेपछि प्लान्ट बन्द भएको बताए ।
प्रतिक्रिया