वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन २०८०/८१, नेपालमा सम्पत्ति शुद्धीकरणसम्वन्धी कानुनको कार्यान्वयन पक्ष कमजोर

काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण सम्वन्धी कानुनको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार पनि उक्त कानुनको कार्यान्वयन पक्ष कमजोर देखिएको छ ।
प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिइएको छ । उक्त प्रतिवेदनमा मुख्यत सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्था, कानून कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायहको जम्मा सङख्या एक हजार छ सय ३९ पुगेको छ ।
सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको सङख्या आ.व. २०७९/८० मा १६ लाख ९८ हजार तीन सय ९८ रहेकोमा आ.व. २०८०/८१ मा सो सङख्या १६ लाख ९७ हजार सात सय १२ रहेको छ । सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङख्या आ.व. २०७९/८० मा पाँच हजार नौं सय ३५ रहेकोमा आ.व. २०८०/८१ मा सो सङख्या करिब २४ प्रतिशतले बढेर सात हजार तीन सय ३८ पुगेको छ । यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार/गतिविधि प्रतिवेदनहरू कर छली सम्बन्धी, मौद्रिक/बैंकिङ्ग/विदेशी विनिमय बीमा/सहकारी सम्बन्धी, ठगी सम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको छ ।
प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आ.व. २०८०/८१ मा जम्मा विश्लेषण भएको सङख्या एक हजार छ सय ३२ पुगेकोमा सो मध्ये आठ सय ८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने÷अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको छ ।
याे मध्ये सात सय ४६ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ । सन २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले गरका विविध सुधारका कार्यहरू र हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजनाको कार्यान्वयनका सन्दर्भमा गरिरहेका प्रयासबारे समेत प्रकाश पारिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी कार्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ । त्यस्तै इकाईका कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धि तथा सूसूचित गर्ने सम्बन्धी विविध गतिविधि प्रस्तुत गरिएको छ ।
साथै, सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति जस्तैः हुण्डी, साइबर ठगी, अनलाइन खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरण लगायतका विषयहरू प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया