स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने “मुभ-३” योजना सन् २०२५ को सुरुदेखि पुन: लागू गर्ने निर्णय गरेको छ। यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन् ।
व्यावसायिक गाडीको हकमा यो रकम नाै युरोसम्म हुनेछ। यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ । साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिनेछ । पर्यावरण मन्त्री सारा आगेसनले मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी दिए । उनले भने, यसले विद्युतीय गाडीको माग बढाउन मदत गर्छ र हाम्रो उद्योगलाई बाहिरी समस्याबाट जोगाउँछ ।
उनका अनुसार यो योजनाले गाडी किन्नेहरूलाई भरपर्दो वातावरण सिर्जना गर्नेछ र विद्युतीय सवारी उत्पादन तथा अन्य सम्बन्धित उद्योगलाई पनि फाइदा पुग्नेछ। हामीले अहिलेसम्म विद्युतीय सवारी र पूर्वाधारका लागि ३ अर्ब युरो खर्च गरिसकेका छौँ, आगेसनले बताए ।
युरोपेली संस्थाका अनुसार, सन् २०२४ मा स्पेनमा एक लाख ३३ हजार ६९९ वटा विद्युतीय गाडी बिक्री भए । यद्यपि, पूर्ण विद्युतीय र प्लग-इन गाडीको बिक्री अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले घटेको थियो । यी गाडीले कुल बिक्रीको ११.४ प्रतिशत ओगटेका थिए ।
प्रतिक्रिया