शनिबार, वैशाख ६, २०८२

नयाँ वर्षमा चुरेक्षेत्रको पर्यटन प्रवर्द्धनको चासो

नेपालखोज २०८१ चैत २३ गते ७:१७

महोत्तरी । नयाँ वर्ष २०८२ सुरु हुन अझै एक साता बाँकी छ । तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल सुरु भएको छ ।

विसं परम्पराको नयाँ वर्षसँग आफ्नै दैननदिनको सम्बन्धले यस दिनलाई विशेष बनाउन युवा पुस्ताले केही दिन पहिले नै तयारी थालेका हुन् । जिल्लाका सुदुर दक्षिणी भेगका युवाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको अवलोकनलाई महत्व दिएका छन् ।

यसपालिको नयाँ वर्षलाई विशेष बनाउन सामूहिक वनभोजसँगै प्राकृतिक सम्पदाबारे नजिकबाट नियाल्ने केही युवा समूहको तयारी छ ।

चनौटेडाँडा मधेसमै फरक हावापानीको ठाउँका रूपमा चिनिन्छ । पूरै लेकाली हावापानीको चनौटेडाँडामा उच्च पहाडी क्षेत्रमा फल्ने फलफूल र तरकारी उब्जन्छन् । जुनार, सुन्तला, निबुवाजस्ता फलका रुख र स्कूस र चुच्चे करेलाजस्ता तरकारी यहाँ लटरम्म देखिन्छन् ।

आफ्नै जिल्लाको फरक भूगोलबारे जानकारी बढाउन यसपालि नयाँ वर्ष चनौटेडाँडामा मनाउने यादवको भनाइ छ । तलको मैदानमा अचाक्ली गर्मी बढिरहेका बेला हावापानीको फरक महसुस चनौटेले गराउने उहाँ बताउँछन् ।

कतिको गन्तव्य सोलीघोप्टे डाँडा छ, कतिको गिद्धबास । सोलीघोप्टे महोत्तरीको चुरे पर्वतीय शृङ्खलाको जडीबुटीको भण्डार मानिन्छ । यसैगरी राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान भेटिएको छ । रमाउने अवसरमा यी ठाउँबारे सार्वजनिक चासो बढाउन यसपालि नयाँ वर्षमा जिल्लाको भारतीय सीमावर्ती मटिहानीका युवाले यी ठाउँलाई रोजेका छन् ।

चुरे शृङ्खला र त्यसका आसपासका कैयन ठाउँ पौराणिक र ऐतिहासिक महत्वका छन् । यी ठाउँबारे युवामा चासो बढ्नु सकारात्मक भएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वा बताउँछन् । चुरे र यस आसपासका राइमण्डलधाम, पञ्चधुरा माईस्थान, कालापानी उद्यान, टुटेश्वरनाथ, पाषाण युगकालीन हतियार कारखाना र झ्याउरेभाङ्रे एवं छोड्केसहितका ठाउँ अध्ययनकर्ताका लागि विशेष हुनसक्ने स्याङ्वा बताउँ

चुरे शृङ्खलाको पाहाडि थुम्कोमा अवस्थित टटेुश्वरनाथ महादेव मन्दिर ‘मधेसको कैलास’ र नेपालको ‘बाबाधाम’का नामले पनि चिनिन्छ । द्वापर युगमा वनबासमा रहेका पाण्डवले गुप्तबास सफलताका लागि यहीँ नै भगवान् शिवबाट वरदान पाएको बुढापाका बताउँछन् ।

बर्दिबास—३ को राइमण्डलधाम दानवले दुःख दिएपछि स्वर्गका राजा इन्द्रले तपस्या गरेर शिवजीलाई प्रसन्न गराएको ठाउँ भएको विश्वास गरिन्छ । यहाँ इन्द्रले नै स्थापना गरेको विश्वास गरिएको इन्द्रेश्वर शिवलिङ्ग छ । नजिकै पाषाण युगकालीन हतियार कारखानाको अवशेष फेला परेको छ । कारखानाबारे पुरातत्व विभागले थप खोजअनुसन्धान बढाएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउँछन् ।

यसैगरी गिद्धबास र सिद्धगुफा पनि राइमण्डलधाममाथिको डाँडामा अवस्थित छ । यी ठाउँबारे विभिन्न अवसर पारेर अहिले अवलोकन गर्ने बढ्दै गएका उनको भनाइ छ ।

युवाको चासोमा चुरे क्षेत्र पर्नु यहाँका पर्यटकीय सम्भावनालाई पहिल्याउन र प्रवर्द्धन गर्न सहयोगी हुने देखिन्छ । चुरेकाछका पर्वतीय शृङ्खलाका फराकिला टार, सघन लताकुञ्ज र बुट्यान भएका फाँट पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।

प्रतिक्रिया