सोमबार, वैशाख ८, २०८२

छुट्टाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८१ चैत २३ गते १७:५६

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित सडकमा सोही गाउँपालिका–४ लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु.२ च २९९० नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा जिप चालक मालारानी गाउँपालिका-४ लुटीपोखरी बस्ने २१ वर्षीय दिलिप खनाल र जिपमा सवार २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–२ जुकेस्थित सडकमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र.३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका-५ बस्ने ३० वर्षीया सरिता राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सोताङ प्राथामिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, ककनी गाउँपालिका–३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गानाको ना.६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया