सोमबार, वैशाख ८, २०८२

वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

नेपालखोज २०८१ चैत २३ गते २०:५८

गोरखा । देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ ।

पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर सङ्कलन गर्न पाउने छन् ।

गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए ।

कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । हाल गाउँपालिकाका अधिकांश वनजङ्गलमा धमाधम पतिङ्गर सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया