आइतबार, वैशाख ७, २०८२

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

नेपालखोज २०८१ चैत २५ गते १२:१६

सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।

पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेका तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।

फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उनले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिए । प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरे ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

– चुनावी अभियान मे देखि शुरु –

राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ । विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेका छन् । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ ।
उनको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।

सन् २०२२ को राष्ट्रपति चुनावमा उनी युनसँग थोरै मतले पराजित भए तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामा पारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गरे ।
दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु हुन् ।

नौ प्रतिशत मत पाउँदै उनले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै हुन् । यसमा पूर्व पार्टी प्रमुख हान डोङ–हुन पनि समावेश हुन् ।

लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए ।

यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाएका थिए । उक्त आदेशलाई अदालतले ‘राजनीतिक उद्देश्यका लागि’ सेना तैनाथ गरेको बताएको छ ।

प्रतिक्रिया