बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक सम्पन्न

म्याग्दी । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ । सङ्घीय सरकारको एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो ।
बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी– अर्थुङ्गे–तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ ।
गत पुस १९ गते दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी नगरपालिकाको अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक, कर्मचारी सहभागी टोलीले मङ्गलबार आयोजनाको अनुगमन गरेको थियो ।
निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिका लागि संरचना निर्माण गरेको छ, उपप्रमुख लामिछानेले भने, सडक र नालीमा ढलान उपकरणको सहायताले गरिएको हो । यसको नमुना परिक्षण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम भएको पाएका छौँ । पहिलो चरणको ठेक्काबाट बचेको २० लाखरकम बराबरको थप काम गर्न हालै ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिए ।
उक्त आयोजनामार्फत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान लगाउनेलगायत काम भएको नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिए । उहााका अनुसार ढलान, नाली, ग्याबियन जाली भर्ने, पलम र मेसिनरी पर्खाल निर्माण भएपछि सडक यात्रा सहज र सुरक्षित भएको छ ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर परिचालन गर्नुका साथै आवश्यकता अनुसार उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि काम सम्पन्न गरेको इञ्जिनियर गौतमले उल्लेख गरे । तत्कालीन जिल्ला विकास समितिले विसं २०५६ मा ट्रयाक खोलेको यो सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ ।
किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किमी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया