आइतबार, वैशाख ७, २०८२

प्रकाशशरण महतको अगुवाइमा कांग्रेसको हुलाकी राजमार्ग अभियान

नेपालखोज २०८१ चैत २६ गते १३:०४

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले हुलाकी राजमार्गलाई केन्द्रित गरी तराई-मधेसमा पार्टीको संगठन सुदृढीकरण र कार्यकर्तासँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरेका छन् ।

प्रवक्ता महत यस अभियानको थालनी गर्दै मंगलबार सप्तरी पुगेका थिए । उनले कांग्रेस सप्तरी कार्यालयबाट औपचारिक रूपमा यो अभियान सुरु गरेका हुन् । यस क्रममा उनले तराई-मधेसका विभिन्न जिल्लामा हुलाकी राजमार्ग आसपासका क्षेत्रमा अन्तर्क्रिया लगायतका कार्यक्रम गर्ने योजना रहेको छ ।

सप्तरी क्षेत्र नम्बर १ का कार्यकर्तासँग बुधबार भएको अन्तर्क्रियामा प्रवक्ता महतले पार्टीका नेता तथा कार्यकर्ताहरू आफ्नो काममार्फत पहिचान बनाउनुपर्नेमा जोड दिए । उनले नेता कार्यकर्ताले आफ्नो कर्मबाट नै परिचय स्थापित गर्नुपर्ने परम्पराको थालनी गर्नुपर्ने बताए ।

सोही अवसरमा प्रवक्ता महतले जिल्लास्थित नेता कार्यकर्ताहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिए। उनले पार्टीमा केही कमजोरी भए पनि अन्य दलको तुलनामा कांग्रेस धेरै राम्रो रहेको भन्दै गर्व गर्न आग्रह गरे । उनले आत्मविश्वास नभए संगठन निर्माण गर्न नसकिने बताए ।

महतले पार्टीभित्रका कमीकमजोरीलाई सम्बन्धित निकायमार्फत सुधार गर्दै लगिने जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशन आउन अझै समय लाग्ने बताए । महाधिवेशनलाई लक्षित गरी नेताहरूले गरिरहेको दौडधुपप्रति टिप्पणी गर्दै उनले अहिलेदेखि नै व्यक्ति विशेषको प्रचारमा लाग्नुभन्दा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रवक्ता महतले १५औँ महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्ने घोषणा गर्ने समय नभएको बताए पनि उनी सभापति पदका आकांक्षीका रूपमा हेरिएका छन् ।

प्रतिक्रिया