आइतबार, वैशाख ७, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

नेपालखोज २०८१ चैत २६ गते १७:५६

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-३ ठूलो भर्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२६ ट्याब्लेटसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४२० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर शिविर बस्ने २३ वर्षीया बन्दना बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २५ वर्षीय गौरभ आचार्य समेत ३ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५८० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले गौरभको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६०० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक राना समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम र मोबाइल १ थान सहित भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट लागूऔषध गाँजा ५ किलो ७५० ग्राम र मोबाइल ४ थानसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार खोला नजिकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४५ ग्राम ३३० मिलिग्रामसहित भारत वेष्ट बंगाल दार्जिलिङ घर भएका ४१ वर्षीय राजेन बर्मनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने २८ वर्षीय भुवन न्यौपानेलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५० मिलिग्राम र अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ ५९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-७ कोटीला घर भएका २८ वर्षीय उत्तम बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया