शनिबार, वैशाख ६, २०८२

सागसब्जीखेती प्रवर्द्धन गर्न भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम

नेपालखोज २०८१ चैत २८ गते ९:००

भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक सागसब्जीखेतीमा जोड्न गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’मार्फत १० लाख र वडाले तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई–३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताए ।

किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए । किसानको मागको आधारमा पहिलो चरणमा वडाका १२१ जना किसानलाई टनेल वितरण गरिएको उहाँले जानकारी दिए ।

भुल्के क्षेत्रलाई सागसब्जीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ, वडाध्यक्ष थापामगरले भने, यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ । तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ । किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताए ।

प्लाष्टिक टनेलसहित थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, पाइप, कीरा मार्ने पासो र आवश्यक बीउबिजन पाएको स्थानीय किसान सीताराम मगरले बताए । गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक सागसब्जी खेतीमा लाग्न प्रोत्साहन मिलेको उनले बताए । प्लाष्टिक टनेलसहित आवश्यक बीउबिजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उनले बताए ।

गाउँपालिकाले गरेको सहयोगबाट थप टेवा पुगेको अर्का किसान देवीप्रसाद भट्टराईले बताए । अन्य बालीको तुलनामा प्रविधि प्रयोग गरेर उत्पादित सागसब्जीबाट छ गुणा बढीसम्म आम्दनी लिएको उनले सुनाए ।

किसानलाई प्रविधिमैत्री जैविकखेती प्रणालीमा जोड्न ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । किसानलाई सागसब्जीखेतीसम्बन्धी जानकारी दिन पाँच वटा वडामा केन्द्र स्थापना गरेर प्रशिक्षणको व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया