शनिबार, वैशाख ६, २०८२

समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली

नेपालखोज २०८१ चैत २८ गते १६:२८

रुपन्देही । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन् ।

पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजनको कोसिस गर्ने देशी-विदेशी प्रतिक्रियावादी तत्व असफल भएको टिप्पणी गरे । उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गरे । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध बताए ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौँ विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो ।

सभामा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्नेगरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र पार्टी नेतृत्वले गरेका कामबारे आफूहरू छलफल गर्न तयार रहेको भन्दै विपक्षी र प्रतिगामी पक्षहरूबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरे ।

प्रतिक्रिया