शनिबार, वैशाख ६, २०८२

विसु पर्व मनाउन घर फर्कदै नेपाली

नेपालखोज २०८१ चैत २८ गते २१:१९

कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका यतिबेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल चेक पोष्टले जनाएको छ ।

चेक पोष्टका अनुसार भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न सहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको बताइएको छ । अन्य विदेशीमुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरै जसो नेपाली रोजगारीका लागि भारत जाने गर्दछन् ।

लामो समयदेखि भारतको दिल्लीस्थित होटलमा काम गर्दै आउनुभएका जयपृथ्वी नगरपालिका–५ का गङ्गादत्त जोशीले विसु पर्व मनाउनकै लागि घर फर्केको बताए । विसु पर्व अर्थात नयाँ सालमा परिवारका सदस्यहरुबीच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गर्ने गरिन्छ, जोशीले भने, जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको आभास रमाइलो मै बित्छ ।

भारतको कानपुरमा रोजगार गरी घर फर्कदैँ गरेका डडेल्धुराका धनबहादुर कुँवरले पारिवारिक भेटघाट तथा विसु मनाउन घर फर्केको बताए । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ ।

खेतीपाती नहुने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्लोरलगायत ठूला सहरमा जाने गर्दछन् ।

प्रतिक्रिया