वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ ।
यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताए ।
उनले भने, यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ । तर, सङ्ख्यात्मक नभई हामीले गुणात्मक चलचित्र बढाउनुपर्छ । अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार चलचित्र ल्याउनु पर्छ ।
उनले अभिनय गरेको चलचित्र ‘भूठान’ यही वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ । यस वर्ष मह सञ्चारबाट चलचित्र निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाएका छन् ।
चलचित्र निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ । दुई चलचित्र प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई चलचित्रकै काममा केन्द्रित छु, अभिनेता आचार्यले भने ।
प्रतिक्रिया