आइतबार, वैशाख ७, २०८२

उम्मेदवारी खुला गर्ने उच्चस्तरीय समितिको निर्णयको एनआरएन अभियन्ताहरूले गरे स्वागत

नेपालखोज २०८२ वैशाख २ गते १२:४९

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का सबै प्रतिनिधि (डेलिगेट्स) हरूले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का सबै पदहरूमा उम्मेदवारी दिन पौने निर्णयको एनआरएन अभियन्ताहरूले स्वागत गरेका छन् ।

नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी उच्चस्तरीय समितिको पछिल्लो बैठकले त्यस्तो निर्णय गरेको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।

अब तोकिएको शुल्क तिरी आगामी मे ३–५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा भाग लिनका लागि नाम लेखाएका जो कोही प्रतिनिधि आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन योग्य हुने छन् ।

‘विगतमा डेलिगेट्स बन्न पनि निकै अवरोधहरू राखिएका थिए । तर अहिले विशेष परिस्थितिमा सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न पाउने र सबै डेलिगेट्सहरुले आइसिसीको लागि उम्मेदवारी दिन पाउने नियम संस्थाको लोकतान्त्रिकरणको लागि कोशे ढुङ्गा साबित हुने छ,’ एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले भने ।

उनले यसबाट योग्य तथा समर्पित व्यक्तित्व आइसिसीको नेतृत्वमा पुग्ने ढोका खुलेको पनि उनले बताए । यसै गरी एनसीसी क्यानडाका पूर्व अध्यक्ष दीपक गौतमले आइसिसीको नेतृत्वमा पुग्न कसैलाई पनि छेकबार लगाउन नहुने बताए ।

‘संसारभरिबाट आएका डेलिगेट्सहरुले आफ्नो विवेक प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्ने कुरा हो । त्यसैले नेतृत्व चयन प्रक्रियालाई खुला र पारदर्शी बनाउनु पर्ने अहिलेको आवश्यकता हाे, उनले भने ।

एनसीसी डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारीले पनि नयाँ निर्णयको स्वागत गरे । ‘आइसिसीको कुनै पनि पदमा उम्मेदवारी दिन पाउनु हरेक डेलिगेट्सको अधिकार हो । अब सबै प्रतिनिधिहरूले एनआरएनएमा अनुभवी र संस्थालाई डाइनामिक नेतृत्व दिन सक्ने साथीहरूलाई चुन्नु हुने छ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले आगामी २२ अप्रिल (नेपालको समय राती १२ बजे अगावै) समितिको वेबसाइमा गएर आवश्यक प्रमाण सहित डेलिगेट्स दर्ताको लागि आवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया