बुधबार, वैशाख ३, २०८२

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

नेपालखोज २०८२ वैशाख २ गते १५:२३

धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके ।

कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् । 

धरान उपमहानगरपालिका–१३ स्थित भ्यू–पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् ।

पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्भने दर्जनाैं पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरुबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरुको आगमन हुने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ।

धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गथ्र्यौं, कोइरालाले सुनाए । 

कुनै समय उजाडझैँ देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,” कोइरालाले भने । ‘लाहुरेको शहर, फेसनेबल शहर, खेलकुदको शहर’लगायत अनेक उपनामले परिचित धरान शहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरु । 

पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए ।

सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौँ, उनले भने । अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उनले जानकारी पनि दिए । 




प्रतिक्रिया