सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिरहा । रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।
गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएकाे गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।
मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुव्र्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।
प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया