शनिबार, वैशाख ६, २०८२

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड

नेपालखोज २०८२ वैशाख ४ गते १२:५४

लुम्बिनी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रुपन्देही आइपुग्नुभएका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको भनी चिन्ता व्यक्त गरे ।

स्थिरताका लागि संविधान संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ, उनले भने, संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ । उनले सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट गर्दै जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए ।

उनले गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताए । उनले अभियानले राष्ट्रिय एकता मजबुत गराउन सहयोग पुर्याउने धारणा व्यक्त गरे ।

राजावादीहरूको आन्दोलनलाई अराजकतावादीहरूको भीडको सङ्ज्ञा दिँदै माओवादी अध्यक्ष दाहालले गणतन्त्र र यसले ल्याएको उपलब्धिका विरुद्ध हुने आन्दोलनलार्ई परास्त गर्न जनताको घरदैलोमा पुग्नुपर्ने खाँचो औँल्याए । रासस

प्रतिक्रिया