शनिबार, वैशाख ६, २०८२

चितवन नेपाल सुपर लिगको प्ले अफमा

नेपालखोज २०८२ वैशाख ४ गते २१:०८

काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो ।

चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । यता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे ।

खेलको सातौँ मिनेटमा जर्जप्रिन्सको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । नेदिरले खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याए ।

छिरिङ गुरुङको प्रहार बक्स भित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनाल्टीमा अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन २–१ ले अगाडि बढ्यो । उनले छिरिङको क्रसलाई पोस्टको दिशा दिए ।

त्यसैगरी अमृत श्रेष्ठबाट खेलको ५४औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा चिवतनले ३–१ को अग्रता लियो । भिक्टर मानसारेको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा रहे ।

चितवनको यो जितसँगै काठमाडौँ रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ । चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो । अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् ।

प्रतिक्रिया