शनिबार, वैशाख ६, २०८२

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

नेपालखोज २०८२ वैशाख ५ गते १६:५४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताएका छन् ।

राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्र्घष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उनले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गरे । सङ्घर्ष समितिका प्रतिनिधिहरूले सरकारले तत्कालीन अवस्थामा आन्दोलनकारीसँग गरेका सहमतिअनुसार समस्या समाधान गरिनुपर्नेमा जोड दिएका थिए ।

सरकारले विसं २०५७ साउन २ गते कमैया, विसं २०६५ भदौ २१ गतेको हलिया, विसं २०७० साउन ३ गते कम्लरी र विसं २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो ।

प्रतिक्रिया