शनिबार, वैशाख ६, २०८२

एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति

नेपालखोज २०८२ वैशाख ६ गते ११:३९

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सदस्यता वितरणको काम सम्पन्न भए पछि अहिले पूर्णरुपमा डेलिगेट्स (प्रतिनिधि) छनोटको काममा व्यस्त रहेको सचिवालयले जनाएको छ । यही अप्रिल २२ तारिख (नेपालको समय राती १२ बजे सम्म) सचिवालयको वेबसाइटमा गएर आवेदन दिन सकिने उच्चस्तरीय समितिकी प्रचारप्रसार संयोजक रविना थापाले जानकारी दिइन् ।

अहिलेसम्म झन्डै १४ सय जनाले डेलिगेट्समा आवेदन दिएका छन् । उनीहरूको कागजात जाँच गरेर उच्चस्तरीय समितिले उक्त सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने छ । निर्वाचन समितिलाई अधिवेशनको ५ दिन अघि सूची बुझाउने गरी काम अघि बढेको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्ने जिम्मेवारी रहेको छ । एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् ) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई सकेको छ । वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् । यसैगरी संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ ।

अधिवेशनका लागि समितिले भेन्यु तय गरिसकेको छ । एकताको अधिवेशनको होटेल हायातमा उद्घाटन हुने छ भने निर्वाचनको कार्यक्रम याक एन्ड यति होटेलमा आयोजना गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया