नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

महोत्तरी । नयाँवर्ष २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् । नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरुमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरुमा छाएको छ ।
गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको छ । पर्याप्त वर्षा भएपछि पानीका मुहान रसाउन थालेका छन् ।
बर्दिवास चोकमाथिका पानीखोल्सी, दूधमारा खोल्सी र दाहाल्नी खोल्सीका मुहानमा पनि पानी रसाएको छ । चौध वडा भएको बर्दिवास नगरपालिकामा ५० जति बस्ती छन् । तीमध्ये अधिकांशमा नदी, खोल्साखोल्सीको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने पानी नै खानेपानीको मुख्य स्रोत हो । बर्दिवासका वडा नं ६, ७, ९, १२ र १३ मा भने खानेपानीको स्रोत इनार छन् । बर्दिवास-१२ का मेघरोल, जुडी र चल्कीमा इनारसँगै चापाकल पनि प्रयोगमा छन् ।
यसैगरी, १२ वटा वडा भएको गौशाला नगरपालिकाका आधा बस्तीमा खोल्साखोल्सी र बोरिङबाट ट्याङ्कीमा भण्डारण गरिएको पानी धाराबाट वितरण प्रणालीबाट आपूर्ति हुँदैछ । गौशालाका अन्य आधा बस्तीमा इनार र चापाकल प्रयोगमा छन् । खानेपानीको समस्या व्यहोर्दै आएको भङ्गाहाका ४ र ५ का वडाका बस्तीमा इनार छन् । ती इनारमा पनि पानी रसाएको छ । ती फागुनदेखि नै सुकेका थिए । इनारमा पानी रसाएपछि गाउँलेहरु दङ्दास छन् ।
पानी परेसँगै किसानका खेतबारीमा उखु, मकै, सागसब्जी लहलहाएका छन् । आँप, लिची र रुखकटहरमा चिचिला पोटिन थालेका छन् । बर्दिवास-७ प्रेमनगरका ७० वर्षीय किसान रामउद्गार महतो जिल्लामा सहकाल प्रारम्भ भएको ठान्नुहुन्छ । खेतीपाती, व्यापार-व्यवसाय र अन्य काममा लाग्न आफूहरुलाई सहज भएको उनले बताए ।
महोत्तरीको ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अधिकांश खेती आकासे पानीका भरमा गर्नुपर्दा किसान अब पानी राम्ररी पर्ने आशामा छन् । जिल्लामा खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ सुविध छ ।
प्रतिक्रिया