आइतबार, वैशाख ७, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

नेपालखोज २०८२ वैशाख ७ गते १४:०७

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३० मिलिग्राम सहित सोही गाउँपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करन बहादुर देउवा र ३५ वर्षीय रोहित शाही रहेका छन् । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम २७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय राम बहादुर बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५४३ ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई १ हजार १८० ट्याब्लेट ट्रामाडोल र विशाललाई २ हजार ३६३ ट्याब्लेट ट्रामाडोल र करिब ३ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपलवोटस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६३ प ४८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९० मिलिग्राम सहित बाँके नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय अनिश नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोठीकाँडाबाट खटिएको प्रहरीले लु.६७ प ६५५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

संखुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय राम बहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १२ ग्राम ३९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरको घरमा लागूऔषध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीले राम बहादुरको घर नजिकै गोठको मलखाडीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया