मंगलबार, वैशाख ९, २०८२

बर्सेनि बढ्दै चैते धानको आकर्षण

नेपालखोज २०८२ वैशाख ९ गते ११:००

भजनी (कैलाली) । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ, उनले भने, बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।

वर्षात्का समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैते धान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिबेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन, सोही ठाउँका बलदेव चौधरी भने, चैते धान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छभने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैते धानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताए । परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठूलो सहुलियत पाएको छ । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ, उनले भने, गत वर्ष करिब पाँच सय हेक्टरमा चैते धानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैते धान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बीउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कानुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । एकिन तथ्याङ्क त सङ्कलन भइसकेको छैन, त्यहीँ एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले दुई सय ५० हेक्टरमा सहयोग गरेको छ, उनले भने, जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।

प्रतिक्रिया