मंगलबार, वैशाख ९, २०८२

तीन हजार बढी करदाताले बुझाएनन् विवरण

नेपालखोज २०८२ वैशाख ९ गते १६:२८

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए ।

उनले भने, पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन् । यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।

विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरुलाई उनले आग्रह गरे । कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, सङ्कलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर सङ्कलन गरेको छ । गत चैत मसान्तसम्म रु १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिभित्र राजस्व विभागले रु १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु १३ अर्ब ९३ करोड ८३ लाख १० हजार राजस्व सङ्कलन गरेको थियो । सो समयमा विभागले रु १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्यको ७० दशमलब ०५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया