संस्कार क्रिकेट लिगको उपाधि नारायण स्पोर्टलाई

कैलाली । कैलालीको धनगढीमा जारी टिम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको आज भएको फाइनल खेलको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ ।
जितसँगै नारायण स्पोर्ट क्लबले नगद रु एक लाख ११ हजार एकसय ११ सहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा बनेको युथ अफ टीकापुरले रु ५५ हजार ५५५ नगदसहित ट्रफी प्राप्त गरेको छ ।
फाइनल खेलमा युथ अफ टीकापुरलाई पाँच विकेटले पराजित गर्दै नारायणले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।
युथ अफ टीकापुरका लागि सुदीप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान तीनरतीन विकेट लिए ।
उनान्असी रनको लक्ष्य पछ्याएको नारायण स्पोर्ट क्लबले १२ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गर्यो । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । बलिङतर्फ युथ अफ टीकापुरका सागर रावलले तीन विकेट लिए ।
संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ वटा टोली सहभागी रहेका थिए ।
प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्टका सुमित बुढाल भए । त्यसैगरी वेष्ट बलर उत्तर त्रिशुलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल इमर्जिङ प्लेयर बनेका छन् ।
प्रतिक्रिया