बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको नेता खनालकाे दावी

नेपालखोज २०८२ वैशाख १० गते १०:२८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताए । समाजवादी शिक्षा स्थापीत गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकको मागलाई कुल्चिएर हिडेको उनले बताए ।

त्यस्तै उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका बिषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गरे ।

कांग्रेसको पिठ्युँमा बसेर केहिदिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उनले तर्क गरे । उनले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राखे ।

प्रतिक्रिया