ट्याक खुलेको १४ वर्षपछि पिपलबोट-पोक सडक स्तरोन्नति

म्याग्दी । ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका-५ को पिपलबोट-पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मङ्गला गाउँपालिकाले पोक-पिपलबोट-पाखु-घारा-सिरकुम-टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट-पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला-५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि दुई करोड १७ लाख रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको छ । ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला-५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए ।
उनका अनुसार ९४५ घनमिटर पलम (पक्कि) पर्खाल, एक हजार ५९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र २२० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।
सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ ।
हाल कच्चि, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर-पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो ।
प्रतिक्रिया