‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक

ढोरपाटन (बागलुङ) । बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो ।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु पाँच लाख र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुने गरी धमाधम काम भइरहेको छ । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न ५८ करोड अनुदान पाएको थियो ।
उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो । नगरपालिकाले ०८१ जेठ १५ गते आशिष-फेवा जेवीसँग १२।५ किलोमिटर सडक कालोपत्र गर्न रु ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।
लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । बागलुङ–४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गैँची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गरे । आफुले भोगेको दुखः छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उनले बताए ।
उाले भाे, उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरुले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्य भने, अहिले म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो ।
प्रतिक्रिया