बुधबार, वैशाख १०, २०८२

एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

नेपालखोज २०८२ वैशाख १० गते १५:२२

काठमाडौं । यही वैशाख २० देखि २२ गते सम्म (मे ३-५, २०२५) मा काठमाडौँमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ ।

“निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,“ प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले भने । उनले संघको विधानको मर्म तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने पनि जनाए ।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख निर्वाचन आयुक्त र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशन मा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ ।

उच्चस्तरीय समितिले सोमबार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो ।

प्रतिक्रिया