विपन्नलाई घर बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले विपन्नहरूका लागि घर बनाउने भएको छ । महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत एक सय ३९ जना लाभग्राही छनोट गरिएको छ ।
महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने योजना पलएको हो । गत मङ्सिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् ।
दाहालका अनुसार चालु आर्थिक वर्षमा एक करोड रकम विनियोजन गरिएको छ । एउटा घर बनाउन रु पाँच खर्च हुने अनुमान गरिएको छ । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमशः घर बनाउँदै लगिने उनले जानकारी दिइन् ।
यस कार्यक्रमअन्तर्गत महानगरभित्र रहेका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकास गर्न विपन्न परिवारका लागि को सुरक्षित आवास निर्माण र हस्तान्तरण गर्नेगरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख दाहालले बताइन् ।
‘भरतपुर महानगर प्रमुख विपन्न आवास कार्याक्रम कार्यविधि’ बनाएर कार्यन्वयनमा ल्याएको कार्यक्रमका सदस्यसचि इञ्जिनियर साकार लामाले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमअन्तर्गत लाभग्राही छनोट गरिसकिएको छ ।
वडा कार्यालयहरूबाट लाभग्राहीको लगत सङ्कलन गरी स्थलगत अनुगमनको काम सकिएको बताउँदै उनले भनिन्, पाँच सय भन्दा बढी लाभग्राहीको आवेदन फारम परेको थियो । स्थलगत अनुगमन पछि एक सय ३९ जना छनोट भएका छन् । कार्यविधि अनुसार नौ वटा सूचकभित्र परेकाहरूको आवास निर्माण गरिने छ ।
उक्त कार्यक्रमअन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् । घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनी प्रमाणपूर्जा पाउन सक्ने, वडाले विवाद रहित ऐलेनी जग्गा भनी सिफारिस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ, इञ्जिनियर लामाले भनिन् । ‘एक घर, एक परिवार’ अन्तर्गत आवास निर्माण गरिने उनले बताइन् ।
प्रतिक्रिया