बिहीबार, वैशाख ११, २०८२

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

नेपालखोज २०८२ वैशाख ११ गते १९:०४

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गरे । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उनले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताए ।

युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा यसतर्फ सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया