आइतबार, वैशाख ७, २०८२

प्रेरक प्रसंग : छेपारोको लालच

नेपालखोज २०७७ असोज १० गते ७:३०

एकादेशमा एउटा किसान परिवार थिए । उनीहरु खेति किसानी गरेर जीवनयापन गर्दै आएका थिए । उनिहरुले घरमा गाई, गोरु पनि पालेका थिए ।

एक दिनको कुरो हो । त्यो घरमा गाई ब्यायो । गाइले बाच्छो पायो, बाच्छोलाई दुध खुवाउँदै किसान दाइ गोठमा गाई दुँहुँदै रहेछन् । यो सब दृश्य माथि छानोमा बसेको छेपारोले नियाली रहेको थियो । त्यसैबेला त्यस छेपारोले सोचेछ कास म पनि त्यो बाच्छो भएर जन्मिन पाएको भए यी किसान दाइले मलाई कति माया गर्थे, गाइको दुध खान पाउँथे, हे भगवान अर्को जुनिमा म यस्तै बाच्छो भएर यस धर्तीमा जन्मिन पाउँ भनेर बरदान मागेछ ।

यो कुरा महादेवको कानमा परेछ । केहि समय पश्चात् त्यो छेपारो मरेछ र त्यही घरमा उहि गाइको बाच्छो भएर जन्मिएछ । सुरुका दिनमा उसले देखेको दृश्य सोचेको जस्तै उसले पायो, निकै रमाइलो मान्यो भगवानलाई धन्यवाद दियो । दिन बिस्तारै बित्दै गयो, त्यो बाच्छो हुर्किंदै गयो । जब दुई सालको भयो त्यसलाई ती किसान दाइले बारीमा दाउन थाले, जोत्न थाले । उ तन्नेरी गोरु भयो । उसले दुध खान पाएन, घाँस पराल खाएर दिनभरि जोतिनु पर्ने भएपछि उसलाई यो गोरुको जिन्दगी पनि ब्यर्थ लाग्न थाल्यो ।

उसले सोच्यो यो गोरु भएर दिनभर जोतिनु भन्दा त हलि (किसान) को जिन्दगी ठिक छ । हलिले मन लागे जोत्छ, मन नलागे जोत्दैन् । गोरु भएर हलिको इसारामा चल्नुभन्दा हलि भएर गोरु जोत्नु बेस । अहो ! हलि हुनुपर्ने रहेछ ठान्यो र एक पटक फेरि भगवान पुकार्यो । अर्को जुनिमा म किसान भएर जन्मिन पाउँ भन्यो । एकदिन जोत्दा जोत्दै त्यो गोरु म¥यो ।
केहि समय पछि त्यो किसानको घरमा एउटा बालकको जन्म भयो । बिस्तारै बालक हुर्कंदै गयो । उ युवा भयो । उसले परम्परागत किसानी पेशा अंगाल्नु पर्यो ।

किसानको जिन्दगी बिहान सबेरै उठेर मेलामा जानुपर्ने । खेतिबारीको काम, घामपानी सहनु पर्ने । फेरि गोरु भएर जोतिनु भन्दा हलो जोत्ने किसान हुन निकै गाह्रो भयो उसलाई । गोरु र किसानको जिन्दगीदेखि वाक्क दिक्क भएर फेरि सोच्यो हे भगवान मैले यो के वर मागेर गल्ती गरें । हलिको जिन्दगी झन् बेकार रहेछ । बरु त्यही छेपारो ठिक थियो । म फेरि छेपारो हुन चाहन्छु भनेर वर माग्यो ।

त्यसैबेला त्यहाँ महादेव प्रकट हुनु भयो र भन्नु भयो । हे ! मूर्ख मनुष्य तिमिले आफ्नो जिन्दगीमा जे-जस्तो जति पाएका छौं त्यसैमा सन्तुष्ट हुनुपर्छ । दुनियाँमा कसैलाई पनि संधै आफुले चाहेजस्तो सन्तुष्टि मिल्दैन् । त्यसैले हामीले सधैं आफुसँग जे-जति छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्दछ ।

प्रतिक्रिया