मंगलबार एक घण्टामा ७.०८ अंक घट्यो शेयर बजार, ३५ करोडभन्दा बढीको कारोबार
काठमाडौं । सोमबारदेखि शेयर बजारमा देखिएको करेक्सन मंगलबार पनि जारी रहेको छ । मंगलबार एक घण्टामा नेप्से परिसूचक ७ दशमलव शून्य ८ अंक घटेर १ हजार ५५३ दशमलव ७४ विन्दुमा झरेको छ । यो अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४४ अंक घटेर ३०८ दशमलव १६ विन्दुमा झरेको छ ।
एक घण्टामा मंगलबार १७४ कम्पनीको ३५ करोड ७ लाख ५ हजार रूपैयाँ बराबरको १६ लाख ९९ हजार ३३९ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार ४ दशमलव ७३ अंक घटेर १ हजार ५६० दशमलव ८३ विन्दुमा बन्द भएको बजार मंगलबार १ हजार ५६४ दशमलव ९३ विन्दुदेखि खुलेको थियो । बजार खुलेदेखिनै निरन्तर घटिरहेको छ ।
यस अवधिसम्म वित्त समूह, उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । वित्त समूहको शून्य दशमलव २३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २३ र म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको हो ।
मंगलबार एक घण्टामा व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव ८१ प्रतिशत घटेको छ । मंगलबार पनि नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेर कारोबार भएको छ । नेपाल फाइनान्सको शेयरमूल्य एक घण्टाको अवधिसम्म ९ दशमलव ६२ प्रतिशत बढेर कारोबार भएको हो । यो अवधिमा खानीखोला हाइड्रोको शेयरमूल्य सर्वाधिक ६ दशमलव १२ प्रतिशत घटेको छ ।
प्रतिक्रिया