हाथरस सामूहिक बलात्कार प्रकरण : बलात्कार पछि जिब्रो काटेर कम्मर तोडिएकी युवतीको मृत्यु
एजेन्सी । हाथरस सामूहिक बलात्कार प्रकरणले यतिबेला भारतलाई तताएको छ । सामूहिक बलात्कारमा परेकी भारतको उत्तर प्रदेशको हाथरस जिल्लाकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। परिवारका सदस्यकाअनुसार २० वर्षीया ती युवतीको बलात्कार पछि जिब्रो काटेर कम्मरको हाड भाँचिएर बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनको मंगलवार राती दिल्लीको सफदरजंग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। पीडितलाई सोमवार अलीगढ मुस्लिम युनिभर्सिटी मेडिकल कलेजबाट सफदरजंग अस्पताल ल्याइएको थियो। पछिल्लो दुई हप्तादेखि उनी मृत्युसँग लडिरहेकी थिइन्।
हाथरस पुलिसले घटनाका चारै जना अभियुक्तलाई गिरफ्तार गरेर हिरासतमा लिएको बताएको छ। १४ सेप्टेम्बरमा आमा र भाईसँग खेतमा घाँस काट्न गएका बेला उनलाई चार जनाले सामूहिक बलात्कार गरेको परिवारका सदस्यले बताएका छन्।
पीडितका भाईले भनेका छन्, ‘दिदी, आमा र दाई घाँस काट्न गएका थिए। भाई घाँस लिएर पहिल्यै घर फर्कियो। आमा अगाडि घाँस काटिरहेकी थिइन्, दिदी अलि पछाडि थिइन्। दिदीलाई तानेर उनीहरुले बलात्कार गरे। बेहोस अवस्था आमाले फेला पारिन।’ बलात्कारीले उनीमाथि निर्मम कुटपिट गरेका थिए। मर्यो भनेर छोडेर गएका थिए।
पीडित युवतीलाई बेहोस अवस्थामा सुरुमा स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो। त्यहाँबाट अलीगढ मेडिकल कलेजमा रेफर गरियो। मेडिकल कलेजमा १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरियो। सोमवार थप उपचारका लागि सफदरजंग अस्पताल लगियो। जहाँ उनले अन्तिम श्वास लिइन्।
पीडितका भाईले भनेका छन्, ‘दिदीको जिब्रो काटिएको थियो। कम्मरको हड्डी भाँचिएको थियो। शरीरको एक भाग काम गरिरहेको थिएन। बोल्न सकिरहेकी थिइन्। कुनै प्रकारको इशारा मात्र गरिरहेकी थिइन्।’
सामूहिक बलात्कारको आरोपमा गाउँका उच्च जातिका चार जनालाई नियन्त्रणमा लिएको छ। हाथरसका एसपी विक्रांत वीरले चारै अभियुक्तलाई गिरफ्तार गरेर हिरासत पठाइएको बताए। अदालतसँग फास्ट ट्रयाक सुनवाईको माग गर्ने उनको भनाई छ।
प्रतिक्रिया