मंगलबार, वैशाख ९, २०८२

आइपिएल २०२० : राजस्थानमाथि सहज जीत निकाल्दै मुम्बई शीर्षस्थानमा

नेपालखोज २०७७ असोज २१ गते ७:०४

एजेन्सी । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा मुम्बई इन्डियन्सले जीत हात पारेको छ । प्रतियोगितामा चौथो जीत हात पार्ने क्रममा उसले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्‍यो ।

दुबईमा भएको खेलमा मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १३६ रनमै समेटिएको थियो । राजस्थानका जस बट्लरले ७० रन बनाए पनि जीतका लागि पर्याप्त रहेन । बट्लरबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

ठुलो लक्ष्य पछ्याएको राजस्थानले १२ रन हुँदा ३ विकेट गुमाइसकेको थियो । राजस्थानलाई सस्तैमा समेट्न मुम्बईका जसप्रीत बुमराहले ४ विकेट लिए भने जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले २ २ तथा राहुल चहर र कायरन पोलार्डले १ १ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । मुम्बईका सुर्यकुमार यादवले अविजित ७९ रन बनाए भने कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पन्ड्याले अविजित ३० रन बनाए । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए भने कार्तिक त्यागी र जोफ्रा आर्चरले १ १ विकेट लिए ।

जीतसँगै ६ खेलबाट ८ अंक बटुलेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ भने पराजित राजस्थान ५ खेलबाट ४ अंकसहित सातौं स्थानमा झरेको छ ।

प्रतिक्रिया