बुधबार, वैशाख १०, २०८२

कोरोना कहर : २४ घण्टामा विश्वमा २ लाख ३५ हजारमा संक्रमण

नेपालखोज २०७७ असोज २१ गते ७:१३

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) को संक्रमण पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३५ हजार ८६० जनामा देखिएको छ ।

सोही अवधीमा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ । पछिल्ला केही दिन यता भारतमा भने संक्रमणदर कम हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर क्रमशः घट्ने क्रममा छ । १ अक्टोबरमा ८६ हजार ८२१ संक्रमित २४ घण्टामा थपिएकामा क्रमशः घट्दै पछिल्लो २४ घण्टामा यो संख्या ६१ हजार २६७ मा आइपुगेको छ ।

भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ । भारतमा मृत्यु दर पनि ओरालो लागेको छ । अक्टोबर १ मा १ हजार १८१ संक्रमितको मृत्यु भएको थियो । त्यसयता क्रमशः घट्दै पछिल्लो २४ घण्टामा ८८४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्मकै सबैभन्दा धेरै एकै दिन जुन १७ मा २ हजार ३ संक्रमितको मृत्यु भएको थियो । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार ५६९ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया