मंगलबार एक घण्टामा ३१ करोडभन्दा बढीको शेयर खरिदविक्री, परिसूचक १.९५ अंकले घट्यो
काठमाडौं । मंगलबार एक घण्टाको कारोबारमा ३१ करोड १४ लाख २४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १७४ कम्पनीको उक्त रकम बराबरको १२ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको हो ।
मंगलबार एक घण्टामा नेप्से परिसूचक १ दशमलव ९५ अंक तल झरेको छ । सोमबार १ दशमलव ७४ अंकले बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा बन्द भएको बजार मंगलबार १ हजार ५८३ दशमलव २९ विन्दुदेखि खुलेको थियो । एक घण्टाको कारोबार अवधिभित्र १ हजार ५८४ दशमलव ७० विन्दुसम्म पुगेको बजार ५० मिनेटको कारोबार पछि भने घट्न थालेको हो ।
यस अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३० अंक घटेर ३१२ दशमलव ८१ विन्दुमा झरेको छ । एक घण्टाको कारोबारमा विकास बैंकको परिसूचक सर्वाधिक १ दशमलव २२ प्रतिशतले बढेको छ । सोमबार देखिनै विकास बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका हुन् । मंगलबार विकास बैंकसँगै होटल शून्य दशमलव ३१ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव २३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य १ प्रतिशत, अन्य शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ ।
यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव ५१ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ शून्य दशमलव २७ प्रतिशत, जलविद्युत शून्य दशमलव शून्य ९ प्रतिशत, वित्त शून्य दशमलव ३ प्रतिशत, लघुवित्त शून्य दशमलव ४६ प्रतिशत, जीवन बीमा शून्य दशमलव २१ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव २२ प्रतिशत घटेको छ ।
मंगलबार एक घण्टासम्म मुक्तिनाथ विकास बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको यो अवधिसम्म ४ करोड २० लाख ५० हजार बराबरको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया