बुधबार, वैशाख १०, २०८२

कोरोना विरूद्धको खोपमा ९० प्रतिशत सफलता मिलेको दाबी

नेपालखोज २०७७ कार्तिक २५ गते ७:५१

एजेन्सी । कोरोना विरूद्धको खोपमा ९० प्रतिशत सफलता मिलेको औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले दावी गरेको छ । फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सुरक्षित भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

कम्पनीले यस सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भनेको छ। आपतकालिन प्रयोग अनुमतिका लागि कम्पनीले यसै महिनाको अन्त्यसम्म आवेदन दिने जनाइएको छ।

अनुमति मिलेमा कम्पनीले वर्षको अन्त्यसम्म ५ करोड मात्रा उत्पादन गर्न सकिने बताएको छ। यो मात्राले २ करोड ५० लाख मानिसलाई कोरोनाबाट जोगाउन सक्नेछ। यस्तै आगामी वर्षसम्म १ अर्ब ६० करोड मात्रा उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ।

खोपको सफलतालाई कोरोनाको जारी विश्व महामारीका विरूद्ध अहिलेसम्मको ठूलो सफलता ठानिएको छ। खोपको हालसम्म ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिसकिएको छ र यसमा कुनै जोखिमहरू देखिएको छैन्।

हाल संसारमा दर्जनौको संख्यामा खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा रहेका छन्। तर नतिजा देखाएको खोप यो मात्रै हो। शरिरको प्रतिरोधक क्षमता भाइरसविरूद्ध लड्न तयार होस् भन्नाका लागि यो खोपबाट मानिसको शरिरमा भाइरसको जेनेटिक कोड हालिन्छ।

यसअघि भएका परीक्षणमा कोरोनासँग लड्न खोपले एन्टिबडी बनाउने र प्रतिरोधी क्षमताले शरिरको एक भागमा टि(सेलको निर्माण गर्दछ। यो खोप तीन साताको अन्तरालमा दुईपटक लगाइन्छ।

हालसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणले खोप लगाइएको सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरूद्ध रक्षात्मक प्रणाली विकास भएको देखाएको छ। तर खोपका केही चुनौती पनि छन्। यसलाई शुन्य देखि ८० डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्छ।

यसैगरी यसको प्रतिरोधी क्षमता कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि छ। फरक उमेर समूहका मानिसमा यसबाट हुने प्रभावका बारेमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन्।

प्रतिक्रिया