आइतबार, वैशाख ७, २०८२

नेपालका युवा जनशक्ति अभिसाप कि वरदान ?

पुष्प भट्ट २०७७ कार्तिक २९ गते ११:३६

मुलुकको समग्र विकासको मुख्य कडीको रुपमा मानव संशाधनलाई लिने गरिन्छ । भोलिको भविष्यको रुपरेखा राजनेताले कोर्दछन् भने त्यसको सफल कार्यान्वयनका लागि जनशक्तिको भुमिका अझै महत्वपूर्ण हुन्छ ।

कोरारुपमा रहेको मानव जनशक्ति त्यो मलुकका लागि बरदान र अभिसाप दुवै हुन्छ । आफ्नो मुलुकमा भएका मानव जनशक्तिको उचित स्थानमा उपयोग गर्न नसके त्यो मुलुकका लागि अभिसाप हुन्छ, भने नागरिककोे दक्षता र अनुभवलाई सही रुपमा प्रयोग गरे बरदान सावित हुने गर्दछ । देशको युवाशक्ति समस्या र समृद्धि दुवै हो । राज्यले जनशक्तिको सही प्रयोग गर्न सके समस्या होइन समृद्धि नै प्राप्त गर्दछ ।

जनशक्तिको सही रुपमा व्यवस्थापन गरेकै कारण दोस्रो विश्व युद्धपछिको जापान अहिलेको जापान बन्न सकेको हो । चीन, कोरियालगायतका मुलकले पनि आफ्नो देशको जनशक्तिको अधिकतम उपयोग गरेकै कारण आफ्नो नाम विश्व बजारमा उपस्थित गराउन सफल भएका हुन् ।

समय र प्रविधिमा आएको परिवर्तनसँगै विश्व बजार साँघुरिदै गइरहेको छ । अहिले अर्थतन्त्रमा बलिया मानिएका खाडी राष्ट्रहरु तेस्रो मुलुकका जनशक्तिको भरपुर प्रयोग गरिरहेका छन् । जसको प्रत्यक्ष फाइदा नेपाल जस्ता मुलुक र जनताले लिइरहेका छन् ।

नेपालको अर्थतन्त्रकोे मुख्य आधार स्तम्भ मध्येको एक महत्वपूर्ण हिस्सा रेमिटेन्सले ओगटेको छ । ठूलो मात्रामा विदेसिएका जनशक्तिले पठाएको रकम मुलुकको आर्थिक ढुकुटीको ठूलो सहारा बनेको छ । ति मुलुकबाट नेपालमा पठाएको रकम सानो भए पनि नेपालका लागि भने उक्त रकमले मुलुकको ढुकुटी संचालन भएको छ ।

रेमिटेन्स नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा प्राप्तिको महत्वपूर्ण स्रोतको रुपमा रहेको छ । यो नेपाली अर्थतन्त्रका लागि अक्सिजनसरह भएको छ । नेपाल जीवनस्त सर्वेक्षणको तथ्याङ्क अनुसार सन् १९९६ मा २३ प्रतिशत, सन् २००४ मा ३२ प्रतिशत सन् २०११ मा ५६ प्रतिशत घरपरिवारले रेमिटेन्स प्राप्त गरेको देखिन्छ ।

नेपालमा जीवनस्तर सर्वेक्षणको तथ्याङ्क अनुसार सन् २०११ मा तराईमा प्रत्येक ३ परिवारमध्ये २ परिवारले रेमिटेन्स प्राप्त गर्ने गरेका छन् । तथ्याङ्कअनुसार हिमाल तथा पहाडमा २ परिवारमा १ परिवारले रेमिटेन्स प्रप्त गर्ने देखाएको थियो । त्यस्तै, तेस्रो घरपरिवार सर्वेक्षण अनुसार वैदेशिक रोजगारबाट प्राप्त रेमिटेन्सले मुलुकको ५५.८ घरधुरीमा पुग्ने गरेको र मुलुकभर करीब ३१ लाख घरपरिवारले प्रति परिवार औषत ८० हजार ४ सय रुपैयाँका दरले रेमिटेन्स प्राप्त गर्ने गरेको अध्ययनबाट देखिन्छ । जसले गर्दा सन् १९९५÷९६ मा ४२ प्रतिशत गरिवी रहेकोमा सन् २०१८÷१९ सम्म आइपुग्दा उक्त गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झर्नुका साथै देशको अर्थतन्त्रको आकारमा वृद्धिसँगै आर्थिक वर्ष २०७५÷०७६ सम्ममा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आए १ हजार ४७ अमेरिकी डलर पुग्नुमा रेमिटेन्सको योगदान उल्लेख्य रहेको प्राप्त तथ्याङ्कले देखाउँछ ।

यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा कुल गार्हस्थ्य उत्पादनको करिब २७ देखि ३० प्रतिशत हिस्सा नेपालीहरुको आयात भुक्तानीको स्रोत समेत बनेको छ । रेमिटेन्सबाट प्राप्त हुने रकमको न्यून हिस्सामात्र पुँजी निर्माणमा आउने गरेको विज्ञहरूको भनाई रहेको छ । तर, वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरूको जीवनस्तर भने सुध्रिएको अध्ययनहरुले देखाएका छन् ।

नेपाललगायतका मुलुकको जनशक्ति प्रयोग गरेर तेस्रो मुलुकहरुले आर्थिक समृद्धिको आकाश चुम्न लागेका बेला हामी भने ति मुलुकहरुबाट पठाएको केही रकममा रमाएका छौं । विश्वभर कोरोनाको कहर छ । कोरोना प्रभावित केही देशले लकडाउन गरेका छन् । नेपालको जीडीपीको ठूलो हिस्सा रेमिटेन्स क्षेत्रले ओगटेका कारण अन्य देशको आर्थिक गतिविधिले हामीमा प्रत्येक्ष प्रभाव पार्ने गर्दछ ।

गज्जवको कुरा त के छ भने, कोभिड १९ का कारण विश्वको अर्थतन्त्र ओरालो लागिरहेका बेला नेपाल भने मख्ख परेर बसेको छ । किन त भन्दा नेपालको अर्थतन्त्रमा यसको कुनै नकारात्मक प्रभाव परेन रे । कारण के त भन्दा खाडिमुलुकमा रोजगारी कटौती नहुनु वा सिधै भन्नु पर्दा खाडीका मुलुकमा काम गर्ने नेपाली श्रमिकले निरन्तर रुपमा पठाइरहेको रकम नै हो । यो कुरालाई सरकारले ठूलो सफलताको रुपमा लिएको छ ।

सफलताको रुपमा पनि किन नलियोस त मुलुको आर्थिक ढुकुटी जो धानेको छ । नेपालीका परिवार पालिएका छन् । सरकारको विरुद्ध र आन्दोलन गर्नेको संख्या घटेको छ । त्यो माथि पैसा पनि निरन्तर रुपमा आइ नै रहेको छ ।

उसो त नेपालले रेमिटेन्स भित्र्याउने मात्रै होइन कि नेपालबाट बाहिरीने समेत गरेको छ । नेपालबाट सबैभन्दा धेरै रेमिटेन्स लैजाने मुलुकहरुमा क्रमशः भारत, चीन, पाकिस्तान, भुटान, श्रीलंका, बंगालादेश आदि छन् । नेपालमा ठूलो संख्यामा सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रीसियन लगायत विभिन्न खालका प्रविधिक काम गर्ने सहितका काममा हजारौं भारतीय जनशक्ति कार्यरत छन् । नेपाल भारतको रेमिटेन्स आर्जन गर्ने उच्च पाँच मुलुकमा पर्छ ।

मुलुकको अर्थतन्त्रको स्थाइ परिसूचक रेमिटेन्स होइन । रेमिटेन्स आर्जन गर्ने मान्छे सँधै विदेशमा बस्न पनि सक्दैन । राजनितिक अस्थिरताका कारण देशमा औद्योगीकरणको गति सुस्त हुने, आर्थिक वृद्धि न्यून हुने, उत्पादनका साधनहरुको अवसर लागत कम हुने कारण बेरोजगार बढ्ने हुँदा अवसरको खोजीमा वैदेशिक रोजगार र रेमिटेन्स आर्जनलाई स्वभाविक मान्नुपर्छ । तर रेमिटेन्सले मात्र देशको विकास हुन सक्दैन । वैदेशिक रोजगारले अन्य देशको अर्थतन्त्रलाई मजबुत बनाउँछ भने देशमा रोजगरी सिर्जना गर्न सके मात्र स्वदेशी अर्थतन्त्रको वृद्धिदरलाई उच्च बनाउन सकिन्छ । विदेशी कम्पनीमा विदेशमै काम गर्नु र विदेशी कम्पनीमा स्वदेशमा काम गर्नुको आर्थिक प्रभाव फरक हुन्छ । विदेशी कम्पनीमा स्वदेशमा काम गर्न पाउनु भनेको प्रत्यक्ष वैदेशिक लगानी भित्रनु हो । यसले स्वदेशी अर्थतन्त्रमा रोजगार सिर्जना गरी अर्थतन्त्रको विकासमा ठूलो योगदान पु¥याउँछ ।

रेमिटेन्स अल्पकालका लागि उपयोगी भए पनि दीर्घकालसम्म अर्थतन्त्रले रेमिटेन्सबाटै आर्जन गरेर विकसित हुने सपना देख्नु भ्रम मात्र हो । यसरी देशको विकास र नागरिकको जीवनस्तर उक्सने भएको भए आज फिलिपिन्स, मेक्सिको, बंगलादेश आदिको स्थिति फरक हुने थियो । दक्ष, अर्धदक्ष वा अदक्ष नै किन नहोस् नेपाली श्रमको निर्यातले नेपालको आर्थिक उन्नति पछाडि परिरहेको छ । उत्पादनको सबैभन्दा सक्रिय साधनका रुपमा रहेको श्रम आफ्नै देशका लागि खर्चन नसक्नु हाम्रो अर्थतन्त्रको विस्तारका लागि बाधक पनि हो ।

हाल मुलुकमा स्थिर सरकार बनेको र सरकारको मुख्य नारा नै समृद्ध नेपाल सुखी नेपाली रहेको अवस्थामा आाशाजनक हुने प्रशस्त ठाउँ देखा परेको छ । स्वदेशमै रोजगारका अवसर सिर्जना गरेर रेमिटेन्स आयात होइन स्वदेशमै लगानि भित्र्याउन सक्नु पर्दछ ।

विश्वव्यपी रुपमा फैलिएको कोभिड–१९ का कारण विभिन्न देशमा रोजगारका लागि गएका नेपाली घर फर्किरहेका छन् । तत्कालीन समयमा जुनसुकै कारणले बाहिरिए पनि स्वदेश फर्किएका युवालाई देश निर्माणमा अग्रसर बनाउन आवश्यक छ । उनीहरुको अनुभव र लगानीको भरपुर प्रयोग गर्नु आवश्यक छ ।

प्रतिक्रिया