निर्धनका नाउँको २५ करोड कार्यालय व्यवस्थापनमै सकियो

काठमाडौ । ग्रामिण क्षेत्रका बिपन्न र कम आय भएका अर्थात निर्धनहरुको आर्थिक पुनरोत्थानसहितको लक्ष्य लिएर खोलिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिसतसम्म व्याज लिने गरेको देखिएको छ । संस्थाले कमजोर आर्थिक अवस्था भएका किसान तथा अन्य ग्राहकहरुलाई बिभिन्न किसिमका साना तथा लघुुउद्यमको लागि भन्दै चर्को व्याजमा कर्जा दिने गरेको छ । यसरी चर्को व्याजमा कर्जा दिँदा पनि संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा पनि संस्थाले २१ करोड ६३ लाख ५५ हजार रुपैयाँले खुद नोक्सानी बेहोरेको थियो ।
हाल चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा १४ अर्ब सात लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४३ करोड ३४ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ८२ लाख ५९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५३ करोड ६३ लाख १६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १२ दसमलव ८९ प्रतिसत रहेको छ । यस अवधिमा संस्थाले कर्मचारी व्यवस्थापनमा मात्र १८ करोड सात लाख ४० हजार रुपैयाँ खर्च गरेको छ भने भने अन्य शिर्षकमा छ करोड ९० लाख ६१ हजार रुपैयाँ कर्जा गरेको छ । यस अवधिमा संस्थाको प्र्रति सेयर आम्दानी १८ रुपैयाँ ६२ पैसाले घटेको छ भने नेटवर्थ दुई सय ५१ रुपैयाँ ६२ पैसा रहेको छ । निक्षेपमा छ देखि नौ प्रतिशत व्याज दिँदै आएको संस्थाले कर्जामा भने १० देखि १५ प्रतिशतसम्म व्याज लिँदै आएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ११ अर्ब ६५ करोड तीन लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड सात लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४५ करोड ८८ लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव ३० प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थाले कर्मचारी व्यवस्थापन शिर्षकमा १९ करोड ३२ लाख सात हजार रुपैयाँ खर्च गरेको छ भने अन्य शिर्षकमा दुई करोड ९३ लाख ७३ हजार रुपैयाँ खर्च गरेको थियो ।
प्रतिक्रिया