बुधबार, वैशाख १०, २०८२

खुल्दैछन् एचआइभी सङ्क्रमित

नेपालखोज २०७७ मंसिर १६ गते १४:४९

काठमाडौं । आज डिसेम्बर १ अर्थात ३३ औँ विश्व एड्स दिवस । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ । सुरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाकाअनुसार एचआईभी एक प्रकारको भाइरस हो ।

एचआईभी सङ्क्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भएमा एड्सको अवस्था आउँदैन् । एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने उनले बताए । रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने डाक्टर अनुप बाँस्तोलाको भनाइ छ ।

एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुन्छ ।

कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआईभी हुने सम्भावना हुने डाक्टरले बताएका छन् । सरकारले एचआईभी सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निस्शुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको दाबी गरेको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयकाअनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ। दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ योजना बनाएर काम गरिरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।

त्यस्तै कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।

धौलागिरि अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण सङ्क्रमितहरु खुलेर आउन थालेका हुन् । एचआइभी सङ्क्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितहरु खुल्न थालेको धौलागिरि अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

“एआरटी सेन्टरले सङ्क्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भने “सङ्क्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौं ।” सेन्टरले एचआईभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आएको छ ।

सो सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमितहरु ४०७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् । सेन्टरको तथ्याङकअनुसार सङ्क्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि सङ्क्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ ।

वर्षमा २० देखि २५ जना सङ्क्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताए। जिल्लामा हालसम्म ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया