सोमबार, वैशाख ८, २०८२

आदित्य नारायण वैवाहिक बन्धनमा बाधिए

नेपालखोज २०७७ मंसिर १७ गते १४:४८

एजेन्सी । भारतिय फिल्म क्षेत्रका चर्चित गायक तथा अभिनेता आदित्य नारायण झा वैवाहिक बन्धनमा बाँधिएका छन् । आदित्य आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका हुन् । दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरुले भारतको मुम्बई जुहूस्थित इस्कन मन्दिरमा मंगलबार विवाह गरेका हुन् ।

आदित्यका बुबा उदित नारायण झाले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार, कोरोना फैलिने जोखिमका कारण वैवाहिक कार्यक्रममा करिब ५० जना मात्रै उपस्थित भएको बताएका छन् । आदित्य चर्चित गायक उदित नारायण र गायिका दीपाका छोरा हुन् । बिहेमा बेहुलाका बुबा र आमा दुबैले नाचेका तस्बिर र भिडियोहरु भारतीय मिडियामा सार्वजनिक भएका छन् ।

श्वेता र आदित्यले लामो समयको प्रेम सम्बन्धपछि बिहे गरेका हुन् । मोडल तथा अभिनेत्री श्वेताले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरकी हुन् । तंदूरी लव, शापितजस्ता फिल्ममा काम गरेकी श्वेता ‘शापित’ मा आदित्य नारायणसँगै देखिएकी थिइन् । शापित आदित्य नारायणको मुख्य नायकको रुपमा पहिलो फिल्म थियो । यो फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए । श्वेताले ‘बाबुल कि दुआए लेती जा’, ‘सगुन’ र ‘देखो मगर प्यार से’ लगायत टेलिशृंखलामा अभिनय गरेकी छिन् । नोभेम्बर ३ मा आदित्यले सामाजिक सञ्जालमार्फत् आफ्नो बिहेको खबर सार्वजनिक गरेका थिए ।

आज बुधबार मुम्बईको फाइभ स्टार होटलमा हुने ‘रिसेप्सन’ पार्टीमा बलिउडका ठूला गायक गायिका र कलाकारहरुको जमघट हुने उदितले बताएका छन् । आदित्यको रिसेप्सनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अभिनेता अमिताभ बच्चनसम्मलाई निम्तो दिइएको खबरमा जनाइएको छ ।

प्रतिक्रिया