बुधबार, वैशाख १०, २०८२

शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

नेपालखोज २०७७ मंसिर २५ गते ११:३९

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी सघं संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षा आमुल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिएका छन । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बुधवार सम्पन्न प्रदेश २ को एकाइ सभामा बोल्दै उनले त्यस्तो बताएका हुुन ।

सिमित श्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उहाँले प्रदेश न.ं २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताए ।

समृद्धिका लागि केहि प्रक्रिया समेतमा त्रुटी देखिएको बताउदै उनले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको कुरामा जोड रहेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशब प्रसाद बडालले बहुआयामिक गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताए । आर्थिक तथा सामाजिक रुपमा रहेको गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी गराउन आवश्यक रहेको समेत उनको भनाई थियो । प्रदेश २ का जनताको जीवन स्तरमा सुधार ल्याउन समेत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा सहकारीहरुको भूमिका हुनुपर्नेमा उनले जोड दिए ।

बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गरेका थिए ।

हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिए ।

बागमती प्रदेशको मसिर २५ गते, गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाईसभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

प्रतिक्रिया