सोमबार, वैशाख ८, २०८२

आर्थिक पत्रकारको क्षमता विकासमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

नेपालखोज २०७७ पुष ४ गते १२:४९

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँग भेट गरेका छन् । मन्त्री पौडेलले शुक्रबार आफ्नै कार्यकक्षमा नवनिर्वाचित अध्यक्ष मोदनाथ ढकालसहित कार्यसमितिलाई स्वागत गरेका हुन् ।

सो अवसरमा मन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताए । सरकारको काम कारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने उनको दाबी छ ।


यस अर्थमा आर्थिक पत्रकारको क्षमता विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले पत्रकारको आलोचनात्मक टिप्पणीलाई कदापि संकुचन नगर्ने बताए । उनले भने, “तपाईंहरुको आलोचनात्मक समीक्षा निर्वाध प्रस्फुटित हुनुपर्छ ताकि हामी हाम्रो काम कारबाहीको यथार्थ विवरण जान्न सकुँ ।”

मन्त्री पौडेलले नाफिजले यसअघि दिएको सुझाव अध्ययनपछि आफ्नो धारणा सार्वजनिक पनि गरेका छन् । “पत्रकारको समस्याबारे हामी सचेत छौं,” पौडेलले भने, “यी सुझाव र समाधानको उपायलाई लिपिबद्ध गरौं । पत्रकारको लेखन वृत्ति, क्षमता वृद्धि तथा फिल्डमा गएर समाचार संकलन गर्न पहुँच हुनुपर्छ भन्ने कुरालाई मैले गम्भीर रुपमा मनन गरेको छ र आउने दिनमा पनि गर्नेछु ।”

सो अवसरमा मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको विषम् परिस्थितिबाट समाज र अर्थतन्त्रमा गहिरो प्रभाव परेको स्वीकार्दै अब नेपाल र नेपाली जनता कोभिड विरुद्धको लडाइँमा जित्ने क्रममा पुगेको आफूले महसुस गरेको बताए । कोभिडको प्रत्यक्ष प्रभाव राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग, आर्थिक वृद्धि तथा समाजमा बहुआयामिक रुपमा परेको यसलाई जित्ने राज्यपक्ष र आम नागरिकसमेत सबै सरोकारवाला मिलेर लड्नुपर्र्ने दिन आएको उनको भनाइ छ ।

“सुरुका दिनमा उपचार छैन भनिन्थ्यो, अहिले खोप विकासित भएको छ,” पौडेलले राज्य सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने सोचसहित अघि बढेको दाबी गर्दै थपे, “सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध हुँदै सबै नेपाली नागरिकलाई निःशुल्क खोप दिइन्छ । यो कार्यका लागि स्रोतको अभाव हुँदैन । र, कुनै नागरिकले खोप लगाएबापत शूल्क तिर्नुपर्दैन ।”

विश्वबजारमा सहज उपलब्ध हुन थालेपछि नेपाली पनि खोपबाट लाभान्वित हुने उनको जिकिर छ । पौडेलले भने, “स्रोतको प्रबन्ध अर्थकै जिम्मेवारी हो । म यो कुरा विश्वस्त गराउन चाहन्छु कि स्रोतको अभाव हुने छैन । जसरी कोभिड परीक्षण र उपचार निःशुल्क गरियो, खोप पनि राज्यले निःशुल्क नै उपलब्ध गराउनेछ ।”

खोप विकास गर्न सफल मुलुकसँग आयातका लागि कूटनीतिक कुराकानी भइरहेको जानकारी उनले गराए । अब, आर्थिक जीवनलाई पुरानै लयमा फर्काउन राज्यको प्रयास रहेको बताउँदै उनले अर्थतन्त्रलाई फेरि गतिशील, चलायमान र उपलब्धिउन्मुख बनाउने प्रतिबद्धता गरे । राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सार्वजनिक पनि गरेको उनको भनाइ छ ।


मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल सक्षम र गतिशील बनाउने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउँदै रचनात्मक सहयोगका लागि आर्थिक पत्रकारसँग आह्वान पनि गरे ।

सो अवसरमा उनले वर्तमान राजनीतिमा बादल झैं समस्याका झाँकी देखिएका र समयानुसार यी विषय समाधान हुने बताए । उनको भनाइ छ, “अस्थिरतालाई हामीले अस्वीकार गरिसकेका छौं ।” भेटका क्रममा नाफिजका नवनिर्वाचित अध्यक्ष मोदनाथ ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरुको साझा संस्था भएको जानकारी गराए ।

आर्थिक पत्रकारको क्षमता र सीप विकास गर्दै उनीहरुको कल्याणकारी कर्ममा लाग्ने प्रतिबद्धतासहित आफूले नेतृत्व लिने र त्यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने योजना आफ्नो रहेको उनले सुनाए ।

प्रतिक्रिया