बुधबार, वैशाख १०, २०८२

युभेन्टसको लज्जास्पद हार

नेपालखोज २०७७ पुष ८ गते १२:१६

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले घरेलु मैदानमा हार बेहोरेको छ । फियोरेन्टिनाले युभेन्ट्सलाई ३-० ले हराउँदै सिजनको पहिलो हार चखाएको हो ।

फियोरेन्टिनाको जीतमा डुसान भ्लाहोभिक र मार्टिन कासेरेसले १-१ गोल गर्दा एक गोल भने उपहार पाएको थियो । मंगलबार राति भएको खेलमा पाहुना टोली फियोरेन्टिनाले खेलको तेस्रो मिनेटमा नै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो । उनले फ्रान्क रिबेरीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युभेन्ट्स १८औं मिनेटमा १० खेलाडीमा समेटियो । जुवान क्वाड्राडोले गेइटानो कास्ट्रोभेल्लीलाई फल गरेपछि सुरुमा पहेलो कार्ड देखाइएपनि भिएआरले कार्ड बढाएर रातो कार्ड देखाई मैदान बाहिर पठाएपछि युभेन्ट्स समस्यामा परेको थियो ।

७६औं मिनेटमा एलेक्स सान्द्रोले आत्मघाती गोल गरेपछि युभेन्ट्स २-० ले अघि बढ्यो । अम्राबातको प्रहार ब्लक भएपछि रिवाउन्डमा फ्रान्क रिवेरीले दिएको पासलाई क्रिस्टियानो बिराघीले क्रस गर्दा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८१औं मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३–० को बलियो स्थितिमा पुर्याए । युभेन्ट्स खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो ।

यो हारसँगै युभेन्टस १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा झर्दा फियोरेन्टिना १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि परेको छ ।

प्रतिक्रिया