नेफ्टा अवार्डको १० औं संस्करण आगामी फागुन अन्तिम साता

काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण फागुन अन्तिम साता आयोजना हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।
नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम १० माघलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरु पनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन यहि वर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले जनाएको छ ।
‘अवार्डको तयारीमा जुटिरहेका छौं’ ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।
गत वर्षको चैत्र २२ लाई टुँडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया