सिनेटमा पनि बहुमत नजिक जो बाइडेन आबद्ध डेमोक्रेटिक पार्टी

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मङ्गलबार भएको चुनावमध्ये एक ठायँमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । योसँगै डेमोक्रेटिक पार्टी अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि बहुमत नजिक पुगेको छ ।
अमेरिकी सञ्चारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको जनाएका छन् । सीबीएस, एनबीसी र सीएनएनले रिपब्लिकन पार्टीका सिनेटर केल्ली लोफलर झिनो मतान्तरले पराजित भएको जनाएका जनाएका छन् । यद्यपि केल्लीले भने हार स्वीरेका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पीडादायी हुने अनुमान गरिएको छ । जर्जियाकै अर्को स्थानका लागि भएको चुनावको मतगणना जारी छ र त्यहाँ पनि रिपब्लिकन र डेमोक्रेट पार्टी दुवैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
यदि दुवै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ र उसले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछ । तर रिपब्लिकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ ।
अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ ।
प्रतिक्रिया