स्पोर्टस् अवार्डलाई रुस्लान फुटबलको प्रायोजन

काठमाडौं । १७औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्डस्ट्रिजका कार्यकारी निर्देशक सशिन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार स्पोर्टस् अवार्डमा रुस्लान फुटबल सह(प्रयोजकको रुपमा रहनेछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै इन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताए ।
उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए ।
स्पोर्टस् अवार्डसँग रुस्लानको यो पाँचौं वर्ष हो । आयोजक संस्था मञ्चका अध्यक्ष सुवेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी पुस २८ गते आयोजना हुँदै छ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनीक गरिसकेको छ ।
पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनीत छन् ।
प्रतिक्रिया