सनराइज बैंकको थप ५ शाखारहित बैंकिङ्ग सहित कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात
काठमाडौं । सनराइज बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा शाखारहित बैंकिङ सेवा थप गरेको छ । बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ६३ पुगेको छ ।

बैंकले तनहुँको व्यास नगरपालिकास्थित केशवटार, नवलपरासीको सुनवल नगरपालिकास्थित अस्नैया, सुनसरीको गाढी गाउँपालिकास्थित भमरीबजार, गुल्मीको धुर्कोट गाउँपालिकास्थित हाडहाडे र धुर्कोट गाउँपालिकाकै ड्वानेटामा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
साथै काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा बैंकको १२औं एक्सटेन्सन काउण्टरको शुभारम्भ पनि बैंकले गरेको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।
प्रतिक्रिया